प्रारम्भ खबर ।
फागुन ३, काठमाडौँ । महोत्सव भन्ने बित्तिकै सबैको मनमा लाग्न थाल्छन् रमझम र आकर्षक वस्तुहरुको प्रर्दशन तथा विक्रि वितरण गर्ने दिन । तर कुनै कुनै महोत्सवले यस्तो गराउँछ कि त्यहाँको माटो, समुदाय र व्यक्तिसंग साईनो र भातृत्वको सम्वन्ध स्थापित गराएको हुन्छ । त्यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित वडा नं. १ मा पर्ने गागलमा पनि मैत्रीभावको सम्बन्ध स्थापित गराउने गरी महोत्सवको तयारीमा जुटिरहेका छन् ।
बाग्मति प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिको संयुक्त आयोजनामा यहि फागुन ५, ६ र ७ गते हुने पाँचौँ कागेश्वरी महोत्सवमा सार्वसाधारदेखि राजनीतिक दलका प्रतिनिधि र जननिर्वाचित जनप्रतिनिधिहरु समेतलाई आमन्त्रण गरेका छन् । कलाकार, साहित्यकार तथा पत्रकारहरुलाई समेत आमन्त्रण गरेको सो महोत्सव विगत ४ वर्ष अघिदेखि कागेश्वरीधाममा हुदैँ आईरहेको छ । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुने सो महोत्सवमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथि रहने र आन्तरिक तथा बाह्या पर्यटकलाई समेत निमन्त्रणा गरेको आयोजक समितिले जनाएको छ ।

साँस्कृतिक सम्पदाको प्रर्वद्धन, स्थानीय सीप तथा उत्पादनको प्रर्दशन र प्रर्वद्धन गरी आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य रहेको त्यस महोत्सवमा उपत्यकाकै डाडाँहरु जोड्ने पर्यटकीय गन्तव्यको विकासमा टेवा पु¥याउन कागेश्वरी महोत्सवको आयोजना गर्दै आईरहेको सोही नगरपालिका वडा–१ का अध्यक्ष मकुन्द गजुरेलले बताए । महोत्सवमा करिव एक लाख स्वदेशी तथा विदेशी आगुन्तकहरुलाई निमन्त्रणा गरिने व्यवस्थापन समितिले जनाएको छ ।
तामाङ बस्ती गागलको चिनारी तामाङ कला, संस्कृति, रितिरिवाज र परम्परागत भेषभुषाको समेत प्रर्दशन गरिने महोत्सव व्यवस्थापन समितिका संयोजक श्याम बहादुर तामाङले जानकारी दिए । त्यसै क्षेत्रबाट निर्वाचति प्रदेश सभा सदस्य एवम् नेकपा बाग्मति प्रदेश संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलको अगुवाईमा प्रत्येक वर्ष महोत्सव भईरहेको छ, यसपटक पनि महोत्सवलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारबाट रु. पाँच लाख बजेट छुट्याईएको छ, संयोजक तामाङले भने । काठमाडौँ उपत्यकाका संघीय सांसदहरु, प्रदेश सांसदहरु र उपत्यकाका १८ ओटै नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई समेत अतिथिको रुपमा निमन्त्रणा गरिने व्यवस्थापन समितिका संयोजक श्यामबहादुर तामाङले बताए । फागुन ५ गते सरसफाई, ६ गते कागेश्वरी साहित्य सम्मेलन तथा प्रतियोगीतात्मक स्थलगत कविता लेखन र ७ गते स्थानीय उत्पादन मेला, प्रर्दशन तथा विधि साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताए ।
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रर्वद्धन गर्दै विश्वसामु नेपालको मानचित्र कायम गराउन कागेश्वरीलाई महत्व दिदै आईरहेको सांसद फुयाँलले उनी संविधान सभा सदस्य भएको बखत नै त्यस क्षेत्रको विकासमा चासो दिदै आईरहेका छन् । तीनै फुयाँलले परिकल्पना परेको नेपालकै सबैभन्दा ठूलो कागको मूर्ति समेत बनिसकेको त्यस ठाउँमा पुनः विशाल कागको मूर्ति निर्माणमा जुटिरहेका छन् ।
पूर्वप्रधानमन्त्री देखि स्थानीयको साथ
उनै रामेश्वर फुयाँलको अगुवाईमा संसारकै ठूलो कागको प्रतिमा निर्माण गरि नेपाललाई विश्वसामु चिनाउने अभियान चलाईरहदा पूर्वप्रधानमन्त्री माधव नेपालदेखि स्थानीय जनताहरुको सकारात्मक साथ मिलेको छ । सम्पदा निर्माणमा स्थानीय र आम नागरिकको अपनत्व बनाउन जनताको घरदैलोमा पुगी कवाड संकलन गरेका फुयाँलले माधव नेपालको घरबाट समेत साथ पाएको बताएका छन् । ओझेलमा परेका प्राकृतिक तथा साँस्कृतिक ठाउँहरुको पहिचान गरी प्रर्वद्धनमा लाग्दा विकास निर्माण कार्यमा सरकारको ध्यान पुग्न सहज हुने भएकोले सम्पदा निर्माण र प्रर्वद्धनमा लाग्न अभियन्ता फुयाँलको आग्रह छ ।

मूर्ति निर्माणका लागि स्थानीय जनताको घरदैलोबाट हाते भालाहरु, थाल, करुवा, फलाम, चाँदी, पीतल, तामा सहित २७ सय किलो संकलन भईसकेको र काँगको मूर्ति पनि तयार भईसकेको छ । महोत्सवमा साँस्कृतिक झाँकीहरु प्रर्दशन हुने र स्थानीय खाद्य स्टलहरु, भाडा वर्तनका स्टलहरु, स्थानीय उत्पादित वस्तुहरुको प्रर्दशन तथा विक्री वितारण समेत गरिने आयोजकले बताएको छ ।

