असार २०, काठमाडौं । असार १५ देखि २० गतेसम्ममा मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बुधबारको बैठकमा यस्तो जानकारी दिएका हुन् । पछिल्ला केही दिनको बाढी र पहिरोले पु¥याएको क्षतिको विवरण दिँदै उनले बाढीमा परी २ जना बेपत्ता भएको र झण्डै दर्जन घाइते भएको जानकारी दिए । गृहमन्त्रीले दिएको जानकारी अनुसार कैलालीमा १, बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३, चितवनमा १, पर्सामा २, काठमाडौंमा १, सर्लाहीमा २, तनहुँमा २, उदयुरमा १, सिरहामा १, दाङमा १, मकवानपुरमा २, महोत्तरीमा १, बर्दियामा १ र बारामा १ जनाको मृत्यु भएको छ ।
बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको उनले बताए । सरकारले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरेको पनि उनले जानकारी दिए । सेना, प्रहरी र सम्बन्धित निकाय र केन्द्रको युनिटलाई २४ सै घण्टा सतर्क अवस्थामा राखिएको उनले बताए । सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।