काठमाडौं । मिथिला नगरपालिका वडा नं. ८ सार्वजनिक वस्तिका बोनम्यारो पिडित युवाले उपचारमा सहयोगको लागि आग्रह गरेका छन् । काठमाडौं नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका बोनम्यारोमा क्यान्सर भएका २१ वर्षे कुमार विश्वकर्माले उपचार खर्च धेरै लाग्ने जानकारी डाक्टरहरुले दिएकाले ८ दिनको उपचार पछि डिस्चार्ज भएको बताए ।
उपचारमा ३० लाख भन्दा धेरै लाग्ने भएकोले आर्थिक अभावमा उपचार नहुने चिन्ताले कुमार विश्वकर्मा अहिले चिन्तित छन् । विहान बेलुकाको छाक टार्नै मुश्किल रहेको परिवारमा घरको एउटै कमाउने छोरो विरामी भए पछि एकातिर घरको स्थिती दयनीय बन्दै गएको र अर्को तिर पैसाको अभावमा उपचार हुन नसक्ने भएकोले उनी चिन्तित छन् । मिथिला नगरपालिका वडा नं. ८ मा रहेको सार्वजनिक बस्तिका नामले चिनिने सुकुम्बासी बस्तिमा उनका आमा, बुबा र बहिनी रहेका छन् ।
बुबा दमका बिरामी छन् भनें आमा शारीरिक अपांग छिन् । घरको आर्थिक अवस्थाका कारण राम्रोसँग अध्ययनको अवसर समेत नपाएका उनी कमाउन भारत गएका थिए । भारतमा रोजगारीका क्रममा बिरामी भए पछि नेपाल फर्किएका विश्वकर्माको काठमाडौं शिक्षण अस्पतालमा बोनम्यारोको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर पिडित कुमार विश्वकर्माले आफ्नो उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आर्थिक स्रोत जुटाउन ८ दिन पछि अस्पतालबाट डिस्चार्ज हुनुपरेको दुःखेसो व्यक्त गर्दै उपचारमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् ।

