जनताको मन टुट्ने काम गर्नुहुँदैनः उपप्रधानमन्त्री पोखरेल

प्रारम्भ खबर ।
माघ १८, काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनताको  मन टुट्ने काम गर्न नहुने बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले भने– ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’ उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । ‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उनले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ ।

जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्दै ‘भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ, ‘कुनै पनि नामबाट जनतालाई ढाट्ने ठग्ने काम गर्नुहुँदैन ।’ उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘संस्कृतिको रक्षा, सबै जातजाती भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।  उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार प्रतिबद्धता रहेको बताए ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताएका छन् । ‘काठमाडौंमा खोनपानी समस्या छ । त्यो बाहेक अरु काम तिब्र गतिमा भइरहेको छ । अब मेलम्चीको पानी छिट्टै आउँछ,’ सांसद सिलवालले भने । उनले अव्यवस्थित बिजुली र तारहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरु लगिपरेको पनि बताए । ‘बिजुली र तारहरुको व्यवस्थापन भएपछि सुन्दर बस्तिको रूपमा परिचित हुन्छ,’ सिलवालले थपे ।

सोही कार्यक्रममा अर्की प्रदेश सांसद सीता अधिकारी दाहाले शुभकामना व्यक्त गर्दै विकास निर्माणको काममा सबै जना एक एकाकार भएर लाग्नुपर्ने बताईन् । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा ५५ लाखमा भवन निर्माण गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.