प्रारम्भ खबर । माघ १६, काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को सुरुआतीसंगै पर्यटकलाई आकर्षण गर्न नेपालका विभिन्न साँस्कृतिक, प्राकृतिक एवम् धार्मिक सम्पदाहरुको प्रचार प्रसार गरिरहेको बेला काठमाडौँको काँगेश्वरीमा भने पाँचौ कागेश्वरी पर्यटन महोत्सव मनाउने भएको छ ।
बाग्मति प्रदेश र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त व्यवस्थापनमा फागुन ७ गते पाँचौँ महोत्सवको आयोजना गर्न लागेको हो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुने महोत्सवमा एक लाख व्यक्तिलाई निमन्त्रणा कार्ड बाँड्ने तयारी रहेको नेकपा बाग्मती प्रदेश प्रमुख सचेतक एवम् प्रदेश साँसद रामेश्वर फुयाँलले जानकारी दिनुभयो । उपत्यकाका १८ ओटै नगरपालिकाका मेयरहरु÷ उपमेयरहरु, उपत्यकाका सबै संघीय सांसदहरु, उपत्यकाका प्रदेश सभाका सबै सांसदहरुलाई आमन्त्रण गरिने साँसद फुयाँलले बताउनुभयो । नेपाल भ्रमण वर्षको शीर्षकमा उक्त महोत्सवलाई प्रदेश सभाले बाग्मति प्रदेशबाट रु. ५ लाख विनियोजन गरेको साँसद फुयाँलले जानकारी दिनुभयो ।

कागेश्वरी मन्दिरमा २०७४ साल कागे अष्टमीमा स्तम्भसहित २२७ किलोको अष्टधातुको काग फुयाँलकै पहलमा बनेको छ । सम्पदाहरुको पहिचान, प्रर्वद्धन र संरक्षणबाटै विश्वको आँखा नेपालसामु केन्द्रित गर्ने अभियानमा जुटेका अभियानकर्ता एवम् परिकल्पनाकार साँसद फुयाँलले कागेश्वरीको गागलमा विश्वकै ठूलो कागको मूर्ति निर्माण गर्ने अभियान रहेको बताउनुभयो । जनताकै घरदैलोमा कवाड संकलन गरि करिव २७ सय किलो कवाड संकलन भईसकेको र काँगको मूर्ति निर्माण कार्य जारी रहेको बताउनुभयो । उक्त मूर्ति निर्माणका लागि प्रदेश सरकारले रु. २९ लाख ६० हजार रकम विनियोजन गरिसकेको समेत जानकारी दिनुभयो ।

मूर्ति निर्माणका लागि स्थानीय जनताको घरदैलोबाट हाते भालाहरु, थाल, करुवा, फलाम, चाँदी, पीतल, तामा सहित २७ सय किलो संकलन भईसकेको र काँगको मूर्ति तयार भईसकेको छ । महोत्सवमा साँस्कृतिक झाँकीहरु प्रर्दशन हुने र स्थानीय खाद्य स्टलहरु, भाडा वर्तनका स्टलहरु, स्थानीय उत्पादित वस्तुहरुको प्रर्दशन तथा विक्री वितारण समेत गरिने आयोजकले बताएको छ ।

