मुलुकको स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नेकपाको अग्रसर

माघ ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउने र राष्ट्रिय स्वाभिमानको रक्षा आफ्नो पार्टीले मात्र गर्ने दाबी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार समाजवादी पार्टीका केही कार्यकर्ता प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेता नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणका निम्ति समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताए । नेता नेपाल र अध्यक्ष दाहालले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूलाई स्वागत गरेका थिए । ‘‘अहिलेका पार्टीहरू नामका निम्ति मात्र खडा गरिएका हुन्,’’ उनले भने, ‘‘परिवर्तन नेकपाबाट मात्रै सम्भव छ ।’’

यस्तै नेकपा अध्यक्ष दाहालले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरिह भएर बस्नभन्दा नेकपामै मिल्न आउन आग्रह गरे । उनले अप्ठ्यारो स्थितिमा निरिह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गरेका हुन् । साथै दाहालले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि धेरै झमेला गर्नुभन्दा आफूहरूसँगै मिल्न आउन आग्रह गरे । ‘‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरू आशोक राई, बाबुराम भट्टराई निरिह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो यदि यो सत्य नै होला मलाई सबै थाहा त छैन ती साथीहरू र उपेन्द्रजी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरूलाई पनि त्यो भन्न चाहन्छु,’’ उनले भने ।

सम्बन्धित समाचार