बीबीसी । भारतको राजधानी नयाँ दिल्लीमा एकै परिवारका एघार सदस्यको रहस्यमय मृत्युले अहिले सबैलाई आश्चर्यमा पारेको छ । पुलिसका अनुसार चार पुरुष, सात महिला र दुई बालबालिका सहित १० जनाको हात बाँधेर आँखामा पनि पट्टी लगाएर सिलिङमा झुन्ड्याइएको थियो भने एक ७५ वर्षीया वृद्धाको शव चाहिँ भुईँमै छाडिएको अवस्थामा फेला पारिएको थियो ।
त्यसैले यो घटनालाई अहिले अत्यन्तै अनौठो र रहस्यमय मानिएको छ भने कतिले यसलाई अन्धविश्वास र धार्मिक अभ्याससँग पनि जोडिएको हुन सक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुलिसले सो घरको कुकुर मात्र जिवित फेला पारेको छ । यस घटनापछि हिजैदखि त्यहाँ वरिपरिका मानिसहरु त्रसित भएका छन् भने पुलिस समेत स्तब्ध भएको बताइएको छ । घटनाबारे बताउँदै दिल्लीका वरिष्ठ पुलिस कमिस्नरले आफूले यस्तो क्रुर र अचम्मको हत्या कहिल्यै नदेखेको बताए ।
राजस्थानबाट आएको सो परिवार २० वर्ष अघि देखि नै दिल्लीको बुहारीमा बस्दै आएको थियो । उनीहरुले आफ्नो तीन तले घरमै दुईवटा पसल खोलेर व्यापार गरिरहेका थिए भने आफन्त र छिमेकीहरुले पनि सो परिवार सामान्य र सुखी भएको व्याख्या गरेका छन् । तर आइतबार बिहान छिमेकमा बस्ने गुरचरन दूध किन्न आउँदा ढोका खुल्ला राखिएको र सबैको लास झुन्ड्याइएको फेला पारेपछि उनले पुलिसलाई खबर गरेका थिए । अहिले यस घटनालाई सबैले असमान्य मानिरहेका छन् । त्यसैले अब परीक्षणपछि मात्र मृत्युको वास्तविक कारणबारे पत्ता लाग्ने बताइएको छ । उता छिमेकीहरुसँग सोधपुछ गरिरहँदा भने कसैले असाधारण दृश्य वा आवाजबारे थाहा नपाएको बताएको पुलिसको भनाइ छ ।