पुस ५, बुटवल । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।
घोषणासभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाए । घोषणा कार्यक्रममा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताए । “यति व्यस्त शहरमा बेसहारा मानवमुक्त सडक बनाउने अभियान सफल पार्नु चानचुने कुरा होइन । यो कार्य प्रशंसनीय छ”, उनले भने । आफ्नैभित्रबाट अभिभावकत्व गुमाउनुपर्दाको पीडा धेरै हुने बताउँदै उनले यो अभियानले परिवार र समुदायलाई सकारात्मक सन्देश दिएको धारणा राखे । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताइन् ।
सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गरे । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हुँदै गएको बताए । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाए । रासस

