असार १८, काठमाडौं । सरकारले प्रस्तुत गरको आ.ब.२०७५÷७६ को वार्षिक बजेट आज पारित भएको छ । प्रतिनिधि सभाको आज बसेको तेस्रो बैठकले विनियोजन विधेयक, २०७५ माथि आश्रित रहेका अन्य तीन विधेयकहरुलाई बहुमतले पारित गरेसँगै आजबाट पूर्ण वार्षिक बजेट पारित भएको हो ।
आजको बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ तथा ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ लाई पारित गरेको हो । उक्त तिनवटै विधेयकहरुलाई पारित गरियोस् भनी बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए । तीनवटै विधेयकहरुलाई पारित गर्नु पूर्व विधेयक उपर परेका संशोधनहरुलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । विनियोजन विधेयक, २०७५ भने गत असार १५ गते नै पारित भैसकेको छ । सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५’लाई समेत सर्वसम्मतीले पारित गरेको छ । उक्त विधेयकलाई पारित गरियोस् भनी कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्ताव प्रस्तुत गरेका थिए ।
तेस्रो बैठक शुरुमा भने ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धि विधेयक, २०७५’ लाई सर्वसम्मतीले राष्ट्रिय सभाबाट आजै पारित गरि विधेयकलाई पुनः प्रतिनिधि सभामा नै फिर्ता पठाइएको बारेको सन्देश सदनलाई जानकारी गराइएको थियो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित विधेयक फिर्ता पठाइएको बारे सभालाई जानकारी गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक असार २० गते बुधबार दिउँसो १ बजे बस्ने गरि आजलाई स्थगित गरिएको छ ।