नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा प्रस्तुत

मंसिर २९, काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आइतबार एक वर्षपछि बसेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले बैठकमा छलफल हुने राजनीतिक प्रतिवेदन पेश गरेका छन्। यस्तै यो बैठकमा विशेष गरेर पाँच वटा एजेण्डामा छलफल हुने उनले जानकारी दिए। बैठकमा पार्टी महासचिब विष्णु पौडेलले पार्टीको विधान संशोधन सम्बन्धि प्रस्ताव पेश गरेका छन्। यस्तै भारतले हालै जारी गरेको विवादित नक्साबारे पनि छलफल भएको जनाइएको छ। बैठकले शुरुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको शिर्घ स्वास्थ्य लाभको कामना गरेको थियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रेस वक्तव्यः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक आज मिति २०७६ मंसीर २९ गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो । बैठकको आरम्भमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित प्रस्ताव पारित गरिएको छ । उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त गरिएको छ ।

बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट निम्न बमोजिमका ५ वटा एजेण्डाहरुः राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको छ । आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभयो । यसैगरी विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभयो ।

स्थायी समितिको अर्को बैठक भोलि मंसीर ३० गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
प्रमुख, केन्द्रीय प्रचार विभाग
२९ मंसीर २०७६

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.