नेपालजस्ता मुलुकको जलवायु क्षेत्रमा लगानी गर्न धनी देशलाई आग्रह

मंसिर २६, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दीगो लगानीका लागि विकसित देशहरुलाई आह्वान गरेका छन् ।

स्पेनको राजधानी मेड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाइ कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए । विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने उनको भनाई थियो । मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५  डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता ब्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराएका थिए । गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले कार्बन उत्सर्जनको वर्तमान बृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गरे ।

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दु(कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको जनाए । हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उनले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराए । ‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ,’ मन्त्री बस्नेतले भने । नेपालले स्थानीय स्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको जानकारी समेत उनले दिए ।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी समेत गराए । उनले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.