सागका पदक विजेता खेलाडीहरू बालुवाटारमा

मंसिर २५, काठमाडौं । सागका पदक विजेता खेलाडीहरू बालुवाटार पुगेका छन् ।

उद्घाटन र समापन समारोहमा सरिक हुन नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको बोलाओटमा सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् पदाधिकारीहरू बालुवाटार पुगेका हुन् । “सागमा पदक जितेका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू बालुवाटार आइपुग्ने क्रम जारी छ । सामूहिक भेटपछि प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने तयारी पनि छ,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रिया गरी सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका थिए । समापनमा पनि सरिक हुन नसकेपछि उनले भिडियोमार्फत सन्देश दिएका थिए । सागमा नेपालले ऐतिहासिक नतिजा निकालेपछि प्रधानमन्त्रीले खेलाडीको हौसला बढाउँदै विशेष प्याकेज घोषणा गर्न लागेको सचिवालयले बताएको छ ।

सम्बन्धित समाचार