मंसिर २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनुसन्धान गर्न गठित समितिले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाउँदैछ ।
श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैंक संचालक समितिले संचालक श्रीराम पौडेलेको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिले मंगलबार संचालक समितिलाई बुझाएको प्रतिवेदन सिल गरी अर्थ मन्त्रालयमार्फत सरकारलाई बुझाउने तयारी गरेको हो । समितिले डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको आरोपको पुष्टी गर्दै प्रतिवेदन बुझाउन लागेको हो । समितिको प्रतिवेदनपछि सरकारले मन्त्रिपरिषद्को बैठकबाट श्रेष्ठलाई डेपुटी गभर्नरबाट बर्खास्त गर्न सक्छ । सरकारले नै लगाएको आरोप पुष्टि भएपछि उनी बर्खास्तीमा पर्ने करिब पक्का भएको छ ।
श्रेष्ठमाथि कतिपय संस्थालाई गलत काम गर्न प्रोत्साहित गरेको, कारवाही गर्नु पर्ने प्रशस्त प्रमाण भए पनि कारवाही नगरी फाइल लुकाएको, सम्पत्ति शुद्धीकरणका आरोप समेत लागेको थियो । समिति गठन भएदेखि श्रेष्ठ निलम्बनमा छन् ।

