प्रवेश गर्दै पश्चिमी वायु, सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध

मंसिर २४, काठमाडौँ । केही दिन सामान्य रहेको नेपालको मौसम भोलि (बुधबार) देखि बदली हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ।

महाशाखाका अनुसार हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने देखिन्छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले शनिबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

विशेष बुलेटिनमा भनिएको छ– उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ। महाशाखाले भनेको छ– उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.