स्पेन। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन मुगुका किशोरीहरु स्पेनमा पुगेका छन्।
मुगुका भिरालो पाखामा मोजाका बल खेलेर हुर्केका किशोरीहरु अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी बन्न शुक्रबार साँझ बार्सिलोना पुगेका हुन्। जुलाई १ देखि ७ सम्म स्पेनमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ३३ देशबाट ६ सय ३० टिमको सहभागिता रहने बताइएको छ। जसमा सहभागिता जनाउन टीम राराका १७ किशोरीहरु पनि प्रतिस्पर्धामा उत्रने छन्।
नेपालको राजधानी काठमाडौं नै नदेखेका किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेन गएर फुटबल खेल्दैछन्। प्रतियोगिताको उद्घाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको टिमका निर्देशक भोजराज भाटले जानकारी दिए।