मंसिर १९, नयाँ दिल्ली । भारतको उत्तरप्रदेशस्थित उनउमा बलात्कृत भएकी एक युवतीको शरीरमा आगजनी गरिएको छ । बलात्कार मुद्दाको सुनुवाईका लागि अदालत जाने क्रममा २३ वर्षीया ती युवतीको शरीरमा बलात्कारमा संलग्न युवाहरुले बिहीबार आगो लगाएका हुन् ।
उनको अवस्था गम्भीर रहेको र अहिले उपचार भइरहेको बीबीसीले जनाएको छ । उनले गत मार्चमा आफूलाई बलात्कार गरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । ती युवतीको शरीरमा आगो लगाएको आरोपमा दुईजना बलात्कारका अभियुक्त र अन्य तीनजना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । ती युवती अदालत जानका लागि ट्रेनको पर्खाइमा भएको बेला एक समूहले उनलाई दुर्व्यवहार गर्दै नजिकैको खाली ठाउँमा लगेर उनको शरीरमा आगो लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बलात्कारमा संलग्न दुईजनामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरे पनि अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि गत साता रिहा भएका थिए । अर्का आरोपी भने फरार थिए ।
भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धीले उत्तर प्रदेश सरकारको आलोचना गर्दै राज्यमा शान्ति सुव्यवस्था भएको भन्दै सरकारले झुटो बोलेर जनतालाई ठगीरहेको आरोप लगाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ूबुधबारमात्रै संघीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीले मुलुकमा कानुनी सुव्यवस्था भएको बताएका थिए । दैनिकजसो हुने यस्ता घटनाले जोकोहीलाई पनि आक्रान्त पार्छ । सत्तारुढ बिजेपी नेताहरुले अब यस्ता गलत प्रचार गर्न बन्द गर्नुपर्छ । राज्य सरकारको चर्को आलोचना भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ती युवतीको सम्पूर्ण उपचार खर्च राज्य सरकारले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतमा सन् २०१२ यता बलात्कार र यौन दुर्व्यवहारका घटना निकै बढेको सरकारी तथ्यांकले देखाएको छ । पछिल्लो सरकारी तथ्यांक अनुसार सन् २०१७ मा मात्रै ३३ हजार ६५८ बलात्कारका मुद्दा दर्ता गरिएको थियो । जुन औसतामा दैनिक ९२ बलात्कार हुने गरेको तथ्यांकले देखाउछ ।

