मंसिर १८, तेह्रथुम । कक्षा–५ पढ्ने थोक्लुङका कृष्ण बराइली पहिले दैनिक स्कुल जाँदनथे । घरमा स्कुल जाने बेला खाना पाक्दैनथ्यो, स्कुल गएपछि दिनभर भोकै बस्नुपथ्र्यो । आठराई गाउँपालिका–७ थोक्लुङको महेन्द्रोदय आधारभुत विद्यालयमा पढ्ने उनलाई विद्यालयमा नियमित गराउन अभिभावक र शिक्षकहरुले पनि सकेका थिएनन् । तर, अहिले उनी नियमित विद्यालय जान थालेका छन् । उनलाई गाउँपालिकाले सुरु गरेको दिवा खाजा कार्यक्रमले तानेको हो ।
अहिले आठराई गाउँपालिकामा दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू निमयित विद्यालय जान थालेका छन् । विद्यालयमा अहिले कृष्ण र कृष्णजस्तै विपन्न र दलित समुदायका बालबालिका नियमित विद्यालय आउन थालेका प्रधानाध्यापक नन्द तामाङले बताए । ‘कतिले त भोक लाग्यो भन्दै छुट्टि माग्ने गरेका थिए, तर खाजा दिन थालेपछि बिदा माग्न छाडे,’ तामाङले भने । विद्यार्थीलाई नियमित विद्यालय उपस्थित गराउनका गाउँपालिकाले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको उनी बताउँछन् ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ बाट विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको हो । अहिले गाउँपालिकाभित्रका ५६ वटा सामुदायिक विद्यालयका ५ कक्षा सम्मका विद्यार्थीकालागि गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा बालबालिकाको उपस्थिति बाक्लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षकालागि दिवा खाजा कार्यक्रम सन्चालन गर्न एक करोड रुपैयाँ विनियोजन गरेकोे अध्यक्ष मानबहादुर लिम्बुले बताए । ‘दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तरमासमेत सुधार देखिँदै आएको छ, अझै सुधारको अपेक्षा छ,’ अध्यक्ष लिम्बुले उनले भने ।
गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन÷अध्यापनमा सहजता मिलको छातेडुंगाको नौले आधारभूत विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार मोक्तानले बताए । ‘बिहान बासी भात मात्र खाएर आएको छु बिदा चाहियो भन्दै आधा पढेर विद्यार्थी घर जान्थे,’ उनले भने, ‘दिवा खाजा कार्यक्रम लागू भएपछि पूरै समय विद्यालयमै बस्छन् ।’
यस्तै, जनकल्याण आधारभूत विद्यालयले दिवा खाजाको तालिका बनाएर हरेक दिन फरक–फरक किसिमका खाजा खुवाउँदै आएको शिक्षक दावा दोर्जै मोक्तानले बताए । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी संख्या दैनिक बढ्न थालेको त्रिमोहन मावि संक्रान्ति बजारका शिक्षक खगेन्द्र खत्री बताउँछन् ।
दिवा खाजा कार्यक्रमपछि विद्यार्थी भर्ना संख्या पनि बढेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लिलानाथ पोख्रेलले बताए । ‘शिक्षाको गुणस्तर सुधार्न खाजाले मात्र हुँदैन शिक्षक र अभिभावक पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने । यो कार्यक्रम प्रभावकारी बनाउन सामाजिक संस्था देउराली सोसाइटीले विद्यार्थीलाई टिफिन बट्टासमेत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक नरबहादुर लिम्बुले बताए ।

