रानीपोखरी पुनः निर्माणको काम तिब्र, वैशाखमा सक्ने तयारी

मंसिर ११, काठमाडौँ । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ। अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पु(याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो। निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए । यस्तै बालगोपालश्वर मन्दिरको पुनःनिर्माणको कामसमेत तीव्ररूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताउनुभयो । “वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन्”, उनले भने बाँकी काम पनि नियमितरूपमा भइरहेको छ।

शुरुआतमा काठमाडौँ महानगरपालिले पुनःनिर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो। मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो। मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर)मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। दश महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी प्राधिकरणले निर्माण कम्पनी ‘सिएर तुलसी कन्स्ट्रक्शन जेभी’सँग सम्झौता गरेको छ। भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिईन् । रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ। पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गुम्बज शैलीमा गरिएको सो मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ। मन्दिरको उचाइ ५३ फिट हुनेछ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा पोखरी निर्माण गर्न लगाएका हुन्। पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको बताइन्छ। उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको हो। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.