काठमाडौं । रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा आजबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । समूह चरणका खेल सकिँदा क्वाटरफाइनल अन्तिम ८ का लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागिसकेको छ । प्रिक्वाटर फाइनलका खेल आज शनिबार बेलुकाबाट सुरू हुनेछन् । राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।
अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । दुई पटकको विश्व विजेता अर्जेन्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ । अर्जेन्टिना र फ्रान्सबीच अलिहेसम्म ११ खेल भएका छन् । जसमा अर्जेन्टिना ६ पटक विजयी हुँदा फ्रान्सले ३ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् । आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् ।