मंसिर ८, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले संविधानविरोधी कार्य गरिरहेको आरोप लगाएका छन् ।
आइतबार बैतडीको सुर्नया गाउँपालिका वार्ड नम्बर –१ बैतडीमा आयोजित चुनावी सभामा बोल्दै उनले कम्युनिस्ट सरकारले संविधान विरोधी काम गरेर लामो संघर्षपछि बनेको संविधान भत्काउन आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकार विकासविरोधी बनिरहेको छ । रेल पानी जहाजका सपना बाँडने सरकारले पूर्ववर्ती सरकारले सुरू गरेका कार्यसमेत यस सरकारले रोकेको छ ।’ पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले आफू मन्त्री हुँदा अर्बौ रुपैयाँ बजेट विनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोरको काम बजेट अभावमा रोकिएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीहरुले राम्रो कार्य नगरेको भनेर हेरफेर गर्नुभएको छ । मन्त्रीमण्डल हेरफेर गर्नुले सरकार असफल भएको प्रमाणित हुन्छ ।’

