सूचना प्रवाहलाई सहज बनाउने थापाको प्रतिबद्धता

मंसिर ४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सूचना प्रवाहलाई सहज बनाउने बताएका छन् ।

मङ्गलबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका थापाले सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा सार्वजनिक गर्नुपर्ने सूचना छिटो र छरितो माध्यमबाट सञ्चार माध्यमसमक्ष समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा काम गरिसकेका अग्रजहरुको अनुभवसमेत लिएर सूचना व्यवस्थापनको काम गर्ने जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारको रुपमा काम गर्दा ‘प्रेस नोट’ जारी गर्ने कार्यको सुरुवात गरेको चर्चागर्दै त्यसलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताए। पत्रकार भेटघाटमा सहज रुपमा प्रधानमन्त्रीको सचिवालयबाट सूचना प्रवाह हुनुपर्ने सञ्चारकर्मीले सुझाव राखेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा शुक्रबार नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सो पदमा नियुक्त गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहिसकेका थापाले बुधबार साप्ताहिक र तत्कालीन नेकपा (नेकपा) को मुखपत्र नवयुगको सम्पादकका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.