नेकपा सचिवालय बस्दैः को–को बन्लान् नयाँ मन्त्री ?

मंसिर ४, काठमाडौं । नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्ने भएको छ । बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए ।

मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने औपचारिक जानकारी दिए । त्यसो त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनःगठन गर्न लागेको जानकारी गराएका थिए । त्यसपूर्व पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।

मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिएअनुसार सुरूमा बैठक नियमित कार्यसूचीमै प्रवेश गरेका थियो । कार्यसूची सकिएलगत्तै प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनःगठन गर्न लागेको जानकारी गराएका थिए । “मैले भोलि (बुधबार) मन्त्रिपरिषद् पुनःगठन गर्न लागेँ । औपचारिक कार्यक्रम नराख्नुहोला । भोलि नै शपथ गराउने तयारी छ, यतिञ्जेल सहयोग गर्नुभयो, धन्यवाद ” प्रधानमन्त्रीले बैठकमा भनेको कुरा स्रोतले उद्धृत गर्दै भन्यो ।

“मैले मन्त्रिपरिषद् हेरफेर गर्न लागेँ । तपाईंहरूमध्ये केही साथी छुट्न सक्नुहुन्छ । छुटेकाहरूका निम्ति यो बैठक अन्तिम हुनसक्छ । राजनीतिमा यस्तै हुन्छ । यहाँ छुट्नेहरूले पार्टीमा काम गर्नुहुनेछ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले बाह्रखरीसँग भने ।

स्रोतका अनुसार बुधबार मन्त्रिपरिषद् पुनःगठन गर्ने र अपराह्न शपथ ग्रहण गराउने तयारी भए पनि हटाउने र थप्ने मन्त्रीहरूको भने टुङ्गो लागिसकेको छैन । स्रोतका अनुसार कम्तीमा पाँच र बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ । हटाइने मन्त्रीको सूचीमा थममाया थाया, लालबाबु पण्डित, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ, बिना मगर लगायत छन् । गोकर्ण विष्ट पनि हटाउने मन्त्रीको सूचीमा रहेको स्रोतको दाबी छ । यी सबै चौमासिक कार्यसम्पादन मूल्याङ्कनमा कमजोर ठहरिएका मन्त्रीहरू भएको स्रोतको दाबी छ ।

त्यस्तै थपिनेमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा,प्रभु साह रहेको स्रोतका दाबी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.