मंसिर ३, दाङ । दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार गतवर्ष ३७ हजार सात सय १० हेक्टरमा लगाइएको धानखेतिबाट एक लाख ६८ हजार ५८ मेट्रिकटन उत्पादन भएको थियो । तर यस वर्ष ३६ हजार ९५५ हेक्टरमा धान खेति लगाईएको थियो ।
जसबाट एकलाख ८१ हजार चारसय ५३ मेट्रिकटन धान उतपादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी जीवन कुमार केसीले बताए । गतवर्षको भन्दा १३ हजार तीन सय ९५ मेट्रिकटन धानमा वृद्धि भएको उनको भनाइ छ । गतवर्ष धानको क्षेत्रफल ३७ हजार ४ सय १० हेक्टर रहेको थियो भने यो वर्ष ३५ हजार ८ सय २४ हेक्टरमा धान रोपाईं भएको हो । रोपाईंको समयमा वर्षाद नभएकाले गतवर्षभन्दा कम क्षेत्रफलमा रोपार्इं गरिएको भएपनि उत्पादन भने वृद्धि भएको उनको भनाइ छ । वर्षाद राम्रो भएकाले उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । गतवर्ष प्रतिहेक्टर उत्पादकत्व ३ दशमलव ८५ मेट्रिकटन प्रतिहेक्टर थियो ।
दाङमा अहिले ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको केन्द्रले तथ्याङ्कमा उल्लेख छ । अहिले प्रदेश मार्फत जिल्लामा आउने पिएमए र स्मार्टकृषि गाउँ कार्यक्रम आउन बाँकी रहेको समेत सूचना अधिकारी केसीले जनाएका छन् । समयमा कृषकको लागि मल, विउ र सिचाईको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन वढाउन मद्दत मिल्ने समेत बताइएको छ । दरबन्दी अनुसारको जनशक्ति नहुदाँ अनुदानका कार्यक्रम पनि समयमा सदुपयोग हुन नसकेको र सेवा प्रवाह राम्रो हुन नसकको अवस्था रहेको उनले बताए । अहिले केन्द्रले दाङ र प्युठान गरेर दुई जिल्ला हेर्दै आएको छ ।
तरकारी अपुग
दाङ जिल्लामा ६ हजार ७७ हेक्टर क्षेत्रफलमा तरकारी खेति गरिदै आइएको छ । त्यसमध्ये प्रशोधित तरकारी ५६ हजार ५९१ मेट्रिकटन उत्पादन हुँदै आएको हो । जिल्लामा आवश्यक पर्ने ६३ हजार ६३४ मेट्रिकटन तरकारी हो । तर अझै ७ हजार १४२ मेट्रिकटन तरकारी अपुग रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी केसीले जानकारी दिए ।

