असार १६, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।
स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो । मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रूपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाईले साउनको तेस्रो सातादेखि राष्ट्रिय परिचय–पत्र वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार, परिचयपत्र वितरणका लागि सिंहदरबार र पाँचथरमा असार ५ गतेदेखि विवरण सङ्कलन तथा ‘डाटा इन्ट्री’ को काम भइरहेको छ ।
सिंहदरबार स्थित सबै मन्त्रालय र निकायहरूमा विवरण सङ्कलनको ढाँचा पठाई सकिएको तथा विवरण आउने क्रम जारी रहेको छ । पहिलो चरण अन्तर्गत परिचयपत्र वितरणको सुभारम्भ सिंहदरबारबाट गरिने जानकारी समेत उहाँले दिनुभयो । यस चरण अन्तर्गत नै पाँचथरमा समेत परिचयपत्र वितरण गरिने छ । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुईवटा विवरण ‘इन्ट्री’ गरिने छ । व्यक्तिगत विवरण नागरिकता प्रमाणपत्रको आधारमा तथा विवरण सम्बन्धित व्यक्तिको दश औंलाको छाप लिएर ‘इन्ट्री’ गरिने केन्द्रले जनाएको छ ।
उहाँले भन्नुभयो, “सुरुमा व्यक्तिगत विवरण ‘इन्ट्री’ गरिसकेपछि सम्बन्धित व्यक्तिलाई बोलाएर जैविक विवरण ‘इन्ट्री’ गर्दै परिचयपत्र वितरण गरिने छ । अहिले ‘सिस्टम चेकिङ’ को काम भइरहेको छ ।
यसअघि निर्वाचन आयोगद्वारा सङ्कलित विवरण प्रयोग गर्ने योजना बनाइए पनि ती विवरण अपूर्ण देखिएको भन्दै केन्द्रले आफैंले विवरण सङ्कलनको काम सुरु गरेको हो । आयोगद्धारा सङ्कलित तथ्याङ्कमा नागरिकको चारवटा औंलाको मात्र ‘फिङ्गर प्रिन्ट’ लिइएको र तथ्याङ्कमा रहेको तस्विर स्पष्ट नभएकाले राष्ट्रिय परिचय–पत्रका लागि निर्वाचन आयोगको तथ्याङ्क काम लाग्न नसक्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भनाइ छ । त्यसैले केन्द्रले राष्ट्रिय परिचय–पत्रका लागि सम्बन्धित व्यक्तिको दशवटै औंलाको ‘फिङ्गर प्रिन्ट’ लिनुपर्ने प्रावधान तय गरेको छ । परिचयपत्रमा राखिने ‘सेक्युरिटी फिचर’ (सुरक्षण चिह्न) बारे सरकारले निर्णय गरेसँगै परिचयपत्र वितरण प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।