कात्तिक २९, काठमाडौँ । पेस्तोलसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ।
कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित ४ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले आज नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।
प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको स्वचालित पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको थियो। उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ।
प्रहरीले हतियारसहित पक्राउ परेकालाई कानुनी कारबाही भएरै छाड्ने भन्दै उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ। तरुण दलले भने उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ। उसले यसअघि विज्ञप्ति निकालेर बिहानदेखि बेलुका ५ बजेसम्म नेपालगन्ज बन्दको घोषणा गरेको थियो ।

