कात्तिक २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले उत्तरी मकवानपुरको चित्लाङ निर्माण तयारी भइरहेको मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय थाहा नगरपालिकाको चित्लाङमा नै बनाउनेमा सरकार दृढ रहेको प्रतिवद्धता जनाउनुभएको छ ।
बुधबार थाहा नगरपालिकाबाट आएका जनप्रतिनिधी सहितको टोलीसंगको भेटमा मन्त्री पोखरेलले काठमाडौं संगैं जोडिको उत्तरी मकवानपुरको चित्लाङमा जस्तो पर्याप्त भूभाग अन्यत्र नभेटिएकोले अहिलेसम्मको अवस्थामा सो विश्वविद्यालय अन्यत्र स्थानान्तरण गर्ने संभावना नरहेको बताउनुभयो । गठन आदेश मार्फत गठन गरिएको प्रश्तावित मदन भण्डारी प्राविधीक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले काम गरिरहेकोको र प्रतिनिधीसभामा दर्ता भएको विश्वविद्यालय सम्वन्धी ऐनले छिट्टै मुर्त रुप लिएपछि यसको सुनिश्चिततता हुने धारणा राख्नुभयो । उहाँले आफुले सो ऐनलाई प्राथमिकतामा राखेको र प्रश्तावित ऐनमा विश्वविद्यालय थाहा नगरपालिका स्थित चित्लाङमा नै स्थापना गर्ने किटान गरिसकेकाले अन्यौलमा नपर्न आग्रह गर्नुभयो ।

उहाँले थाहा नगरपालिका थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र बिष्टको जन्मथलो रहेको र सो स्थानसंग आफ्नो अन्योन्याश्रित सम्वन्ध रहेको खुलाउँदै आफ्नो अन्तिमसम्मको पहल थाहाकै लागि हुने समेत प्रतिवद्धता जनाउनुभयो । ‘म भन्दा माथि प्रधानमन्त्रीज्युबाटै स्थानान्तरणको कुरा आएमा आफुले वेस्ट मिनिस्ट्रयल सिस्टममा प्रधानमन्त्रीको कुरा काट्न मिल्दैन, अन्यथा ढुक्क हुनुस् त्यहाँबाट सर्दैन ।’–मन्त्री पोखरेलले विषयवस्तुलाई प्रष्ट नखुलाई टोलीसंग भन्नुभयो, ‘विभिन्न चलखेलहरु त नभएका होइनन्, निक्कै माथीबाट पनि त्यहाँबाट सार्नुपर्ने खालका दवावहरु पनि नआएका होइनन्, तर मैले चाइनीज टोलीलाई पनि ‘उक्त स्थान अपायक छैन’, काठमाडौं जस्तै नजिकको स्थान हो भनिसकेको छु ।’
पछिल्लो पटक विभिन्न सञ्चारमाध्ययमा विश्वविद्यालय स्थानान्तरण गर्ने भित्री खेलहरु भएका सम्वन्धमा खबरहरु संप्रेशित भएपछि उक्त समाचारको खण्डन गर्न चिनीया पक्षलाई आग्रह गरिसकेको तर ठोस जवाफ नआएको पनि मन्त्री पोखरेलको भनाई थियो । टोलीमा सहभागी मकवानपुर–२ का प्रतिनिधीसभा सदस्य बिरोध खतिवडाले बजारमा उठेका आशंकाहरु चिर्नेगरी सरकारले निर्माण कार्यलाई तिव्रता दिनुपर्ने आबाज उठाउनुभयो । त्यसैगरी थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले स्थानीय सरकारका तर्फबाट सबै प्रकरका सहयोग गर्ने प्रतिवद्धता जनाउर्दै मुलुककै विकासमा कोशेढुङ्गा सावित हुने उक्त विश्वविद्यालय छिटो निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
टोलीमा संविधानसभा सदस्य सुभाष ठकुरी, समितिका अध्यक्ष प्रा डा। राजेन्द्रध्वज जोशी, थाहा–६ स्थानीय बासिन्दा तथा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, नेकपाका नेताहरु बिष्णुप्रसाद ढकाल, बिष्णु बिष्ट, अरुण रायमाझी, अच्युतमप्रसाद ढकाल, राजु नापित, सानुकाजी गोपाली, पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, वडा अध्यक्षहरु लगायत राजनीतिक दल, समाजसेवी, स्थानीय लगायतको सहभागिता थियो । मन्त्री पोखरेललाई नगरप्रमुख बिष्टले ज्ञापन पत्र समेत प्रस्तुत गर्नुभएको थियो ।



