कात्तिक १८, काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र फसेका चार जना कामदारको उद्धारमा कठिनाइ भएको छ ।
अक्सिजनको अभावमा उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए । उनका अनुसार सुरुङभित्र पसेकामध्ये दुईजना बाहिर निस्किएका छन् र प्रहरीको सम्पर्कमा आएका छन् । बाहिर निस्किएकाहरुले भित्र सास फेर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । सुरुङभित्रै फसेकाहरुमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद र शेरबहादुर धामी छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।
सुरुङभित्र सम्पर्कविहीन भएकाको उद्धारका लागि गएका दुईजनाको बेहोसीमा प्रहरीले उद्धार गरेको थियो । सुरुङको लम्बाइ झण्डै डेढ किलोमिटर छ । उद्धारका लागि काठमाडौं बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

