कार्तिक ७, काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली मैत्रीपूर्ण खेलमा आज जापानको यू–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक वैदेशिक प्रशिक्षणमा रहेको महिला टोली चौथो मैत्रीपूर्ण खेलमा जापानको यू–२३ टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रशिक्षणसँगै मैत्रीपूर्ण खेल खेलिरहेको नेपाल मंगलबार भएको तेस्रो मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यू–२१ टोलीसँग पराजित भएको थियो । त्यसअघिका दुई मैत्रीपूर्ण खेलमा भने नेपाल विजयी भएको थियो । २२ दिने प्रशिक्षणपछि स्वदेश फर्किने नेपाली टोलीले लगत्तै बंगलादेशमा आयोजना हुन लागेको सेन्ट्रल जोन भलिबल च्याम्पीयन्सीपमा सहभागिता जनाउनेछ । सेन्ट्रल जोनपछि टोलीले घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्नेछ ।

