अपराधीकरण र भ्रष्टीकरणलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री

कात्तिक ६, काभ्रेपलाञ्चोक । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् ।

उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई बुधबार बनेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न । कुनै कसरत बाँकी नराखी कानुनी कठघरामा उभ्याइन्छ । सजायँ दिलाइन्छ’–उनले भने ।

उनले विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले भने–‘सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ । सबै मिलेर अपराधीकरण र भ्रष्टीकरण न्यूनीकरण गर्दै जाने हो ।’ सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताए । ‘कहीँ–कतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नोस्’–उनले थपे–‘तपाइँहरु साथ दिनोस्, जनप्रतिनिधि के–के काम गर्दैछन्, अनुगमन गर्नपनि आग्रह गर्छु ।’

उनले चुनाव जित्नुमात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गरे । मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औंल्याए । उनले प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन आग्रह गरे । उनले काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गबारे चीनसँग सम्झौता भइसकेको र पूर्वी अन्तर्राष्ट्रिय नाकाकोरुपमा रहेको बनेपामा थप विकासका काम थालिने चर्चा गर्दै लायन्स क्लबको नीति र कार्यविधि हेरेपछिमात्रै आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिससले लायन्सको अभियानमा साथ दिने बताए । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले लायन्सलाई बनेपामा ८ आना जमिन दिइएको र थप एक रोपनी दिने तयारी भइरहेको बताए । लायन्स क्लबका संस्थापक रामराजा धौभडेल र परियोजना प्रमुख सुदर्शनधर प्रधानाङ्गले परियोजना र प्राप्त सहयोगबारे जानकारी दिएका थिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.