‘दाह्रीकी जय’

big bite restro

रमेश शुभेच्छु

तिमीले साह्रै दिक्क लायौ यार । किन दाह्री पालेको ? दाह्रीले कस्तो सुहाएको ? दाह्रीले स्वाएको छ है । के तिमीलाई अरु केही भन्नु छैन ? किन दाह्रीको मात्र कुरा गर्छौ ? जुँगाको कुरा गरे पनि त हुने, कपालको कुरा गरे पनि हुने । ड्रेसअपको कुरा गरे नि हुन्छ नि । के मैले यी दाह्री रमाइलो लागेर पालेको ठानेका छौ ?

तिमी ठान्दा हौ, अरु पाल्न भन्दा दाह्री पाल्न सजिलो । ठान्दा हौ दाह्री पाल्नलाई विरुवा पाल्न जस्तो मल पानी नचाहिने । भेडा बाख्रा पाल्न जस्तो घाँस, पानी अन्न नचाहिने ठान्दा हौ । केही नचाहिने तर हलक्क हुर्कने वस्तु मान्दा हौ । नभए किन यसरी सोधीखोजी गथ्र्यौ ? तर दाह्री त्यसै पालिँदैन । यिनका लागि चाहिने मल पानीको कथा अर्कै छ ।  हेर मर्दले नामर्द कुरा गर्न मिल्दैन । मेरा घरको खर्चबर्चको कुरा गरिसाध्य छैन। श्रीमतीजीको हप्ता हप्ताको पार्लर खर्च, मेकअपको सामग्री खर्च, डुलघुम खर्च, अतिथि सत्कार खर्च त्त्यादि । यो सब जुटाउन निकै गाह्रो छ । तिमी पो विहा नगरी डुल्छौ र ठिकै छौ । मेरा जस्ता भुड्ग्रामा परेका दिन सब थाहा पाउँछौ । शुभेच्छुको निबन्ध पढेका थिएनौ ? उनीको पार्लर खर्चले मेरो दारी काट्ने खर्च कटौटी भयो र दाह्री ग्याङको सदस्य भएँ भन्ने विषय समेटेका थिए त्यस निबन्धमा । ठिक मेरो हालत त्यस्तै हो ।

तिमी मलाई टेगोर जस्तो देखियो भन्छौ । मलाई लाग्दैछ, जिस्क्याउँदै छौ । माक्र्स जस्तो देखियो भन्छौ । त्यतिबेला पनि लाग्छ तिमी उल्ल्याउँदैछौ । म कवि भएकाले लेखनाथका दाह्री जस्ता भन्छौ । त्यस बेला म झन् सर्मिन्दा बन्छु । हेर टेगोर, माक्र्स र लेखनाथका दाह्रीमा गौरव थियो । उनका दाह्रीमा जे थियो नि मेरा दाह्रीमा त्यस्तो केही छैन । यी दारीमा बौद्धिकता खोज्ने तिमी मूर्ख हौ । दार्शनिकता खोज्ने तिमी बेकुफ हौ । यिनमा सिर्जनशीलता खोज्नु बेकार छ । गम्भीरता खोज्नु झन् बेकार छ । सम्झ दाह्री छ केही पनि छैन । सून्य छ ।  तिमी चिन्तै नगर । तिम्रो नगरमा कोही विचारक जन्मँदैन । यी न माक्र्स प्रभावित दाह्री हुन् न रवीन्द्रनाथ ठाकुर प्रभावित दाह्री । न एङ्गेल्स प्रभावित दाह्री न लेलिन प्रभावित दाह्री । तिमीले अर्थअभावले अर्थशास्त्री रोबर्ट जे अउम्यान हुन लागेको पनि भन्न भ्यायौ हैन । त्यो अन्दाज केही पनि होइन । रवीन्द्रले पाएको नोबेल पुरस्कार संस्थापक नोबेल प्रभावित पनि होइन । हाम्रै मनमोहन प्रभावित त होइन अरुको के कुरा । यी दाह्री बरु अर्थअभाव प्रभावित दाह्री हुन् । यी हुन् भने विरक्ति र आपत्तिका चिन्ह मात्र हुन् । यीनमा शन्त र जोगी चेत पनि छैन । भोगी हुन नपाएका पीडाका चिन्ह हुन् । देख्नेले जे जे देखे पनि मेरो भन्नु केही रहेन । यी कपडामा पनि केही स्टायल छैन । छ त उही विरक्ती । उही पीडा । उही अभाव । उही गरिबी । उही मालिकको सेवाले दिएको पीडा ।

बरु सत्य भनूँ, तिमीले चासो लिइहाल्यौ म भन्छु । दाह्री पालेपछि बिलेड किन्ने खर्च बचत भयो । दाह्री काट्ने बेलामा दल्ने साबुनको बचत भयो । यी दाह्रीले सेफ स्याम्पो त कहिल्यै देखेका पनि छैनन् । दाह्री काटेपछि दल्नु पर्ने क्रिमको बचत भयो । टाइ बाँध्ने झन्झट भएन । कलर भएको लुगा नलाए पनि भयो । थोत्रो कोटले पनि सुहायो । दाह्री नै नकाटेपछि कपाल काट्ने खर्च पनि बच्यो । कुनै केटीले आँखा लाउने सम्भावना पनि टर्यो । यी दाह्रीले माक्र्सको चेतना ममा भर्न नसके पनि नि वर्गीय विभेदको एउटा पक्षचाहिँ देखाएका छन् । धनबहादुर साहूले सोखले पालेका दाह्रीसँग मेरा दाह्रीको साइनो गाँसिएको छ । मैले कमाएकोले ऊ तेल हालेर र छाँटकाँट गरेर दाह्री पाल्छ । म उसलाई पोस्न छाँटकाँट नगरी र तेल नदली दाह्री पाल्छु ।
मलाई दाह्री पालेर दाह्री ग्याङको सदस्य बन्नु पनि छैन । आजदेखि मेरा दाह्री हेरेर मलाई नजिस्क्याउनू । म दाह्री काट्ने हैसियत बनाएका दिन तिमीलाई भेटूँला । मलाई यो दुखको खाडलबाट कसरी उम्कने भन्ने व्यासशैलीले सोच्ने समय दिनूँ । मलाई बिथोल्दै नआउनू । म धनबहादुर साहू र मेरा दाह्रीको फरक खोजिरहेको छु । त्यसवीचमा तिमी वीरबहादुर नपल्टनू । दाह्रीकी जय ।

सम्बन्धित समाचार