प्रारम्भ खबर ।
कार्तिक ५, काठमाडौँ । दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. १ मा रहेको क्षमावती माध्यमिक विद्यालयका लागि ४ कोठे नव निर्मित भवन हस्तान्तरण गरिएको छ ।
नेपाल स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्र्सनको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी कार्तिक १ गते हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।

जनकपुर अञ्चालकै पुरानो र थामी समुदायको बहुल्यता रहेको त्यस विद्यालयमा थप नयाँ भवन पाउँदा विद्यालय परिवार र स्थानीयहरु खुसी भएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि अभ्यास चलिरहेको बेला नेपाल स्कटल्याण्ड एसोेसिएशनको वर्तमान कार्य समितिको आर्थिक सहयोगमा बनेको उक्त भवनले थप सहज वातावरण जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद खकुरेलले बताए । लगभग ७ सय विद्यार्थीहरु अध्ययन गरिने सो विद्यालयमा भवन निर्माण भए पनि अझै शैक्षिक सामाग्रीको समस्या भएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक इश्वरप्रसाद मैनालीले सम्बन्धित निकायलाई समेत सहयोग गर्न आग्रह गरे ।

विद्यालय भवन हस्तान्तरण गर्दै एसोसिएशनका संस्थापक सदस्य तथा सल्लाहकार भोला खनालले भूकम्पले प्रभावित क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक वातावरणलाई सहज बनाउन नयाँ भवनले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विद्यालयको शैक्षिक स्तर वृद्धि गराउन विद्यार्थीमैत्री कक्षाकोठा र संरचनाको आवश्यकता रहेको भन्दै त्यसतर्फ ध्यान पु¥याउन विद्यालय परिवारलाई आग्रह गरे ।

थामी समुदायको उद्गमथलोको रुपमा चिनिएको उक्त क्षेत्रमा रहेको विद्यालयका लागि रु. ४२ लाख खर्चमा बनेको भवनको हस्तान्तरण कार्यक्रममा सहयोगी संस्थाका सचिव मनिष खत्री, सदस्य कमला श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष किशोर ढंगोल, ह्याबिट्याट कन्र्सनका प्राविधिक विष्णु तिम्लसिना र सोही वडाका जनप्रतिनिधिहरु, शिक्षक, अभिभावकहरुको सहभागीता रहेको थियो ।

