बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ

असोज २८, काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् ।

प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी जिल्ला अदालतले अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको थियो । सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेको बताइएको छ ।

सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए । व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुःख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेको बताइएको छ । अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए। घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.