थानकोट–नागढुङ्गा सुरूङमार्ग कात्तिक पहिलो साता शिलान्यास गरिने

असोज २८, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ ।
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)मा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङमार्गको शिलान्यास गर्नुहुनेछ ।

यो सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई पठाइसकिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “अबको दुई दिनभित्र जाइकाको स्वीकृतिपत्र नेपाल आइपुग्नेछ, स्वीकृतिपत्र आउने निश्चित भएकाले शिलान्यासको कार्यक्रम तय भएको हो ।”

शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको उहाँले बताउनुभयो । सो शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, जाइकाका उच्च प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू लगायतको सहभागिता रहने उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.