असार ११, झापा । नेपाल राष्ट्र बैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ ।
झापाको कचनकवल गाउँपालिका, वडा नं ६, बनियानीमा नयाँ शाखा स्थापना गरि सेवा सुभारम्भ गरेको छ । शाखाको सोमबार एक समारोहकाबीच प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयूक्त रुपमा उद्घाटन गरेका छन् । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल बनाउन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४९ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।