चिनियाँ राष्ट्रपति सी अपराह्न ४ बजे नेपाल आइपुग्दै

असोज २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्न दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

उनी सवार एयर चाइनाको विमान अपरान्ह साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सी केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यतालिका छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्दैछिन् । आज नै राष्ट्रपति सीसँग प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.