असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जानकारी दिए ।
बसमा ७० जनाभन्दा बढी यात्रु रहेको र ३० जना गम्भीर घाइते रहेको उनको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आँकलन छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ । केही घाइते गम्भीर रहेको र उनीहरुको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । स्थानीयका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।
तस्बिर साैजन्यः होमप्रकाश चौलागाईं


