जय गहना ! जय वस्त्र !! जय वर्तन !!!

रमेश शुभेच्छु

नमस्कार हजुर । जय मनाएँ ।
हजुर राम्रो मान्छे । हजुर असल मान्छे । हजुर विद्वान् मान्छे । हजुर समाजसेवी मान्छे । मानव कल्याणका क्षेत्रमा काम गर्ने मान्छे । म हजुरको पहिलादेखिको फ्यान हुँ । हजुरले पनि त मलाई चिन्नुहुन्छ नि । हामी फेसबुक साथी छौँ नि । म हजुरको फलोअर हुँ नि । मैले जति त हजुरको पोस्टमा कसले कमेन्ट लाइक गरेको होला र । फ्यान पनि यस्तो कि पागलै हुन्छु जस्तो लाग्छ ।

हो हजुर, हजुर मेरो रोलमोडल । कलियुगकी देवी, साक्षत लक्ष्मी हजुर । साक्षत सरस्वती हजुर । मैले हजुरका राम्रा गहना देखेँ । धेरै र ठूला ठूला गहना पनि देखेँ । एउटै गहना दुईदुई तीनतीनवटा पनि देखेँ । आज यहाँलाई भेटेर उत्पात खुसी लागेको छ । यहाँलाई देखेर झन् उत्पात भएको छ । यहाँको बौद्धिकताको चाहिँ कुरा नगरुँ । बरु गहनाकै कुरा गरुँ । मान्छे ठूलो र राम्रो बनाउने त गहना नै हो नि है । अरु कुरा त जोसँग पनि भइहाल्छ नि । हजुरले जस्तो गहना लाउने हैसियत कहाँ सबैसँग हुन्छ र । यतिको गहना लाउने हैसियत भएपछि नाथे कला, प्रतिभा, सेवा, आविष्कार अनि बनाउने हैसियत पनि बनाइराख्नुपर्छ र ? कला साहित्यको अलङ्कार पनि त गहनै हो नि । अलङ्कार पण्डितका पालामा हजुरको जस्तो गहना लाउने चलनै थिएन र पो । नत्र त त्यसैबेला हजुरलाई अलङ्कारको उपमा बनाइदिन्थे ।

मैले भनेँ नि हजुर । म यहाँलाई देखेर र भेटेर उत्पात खुसी छु । यहाँलाई चिनेदेखि नै धन्य धन्य भएकी छु । आहा ! यहाँका गहना कति राम्रा ? कति पनि राम्रा गहना ! कति ठूला गहना ! कति पनि ठूला गहना ? कति धेरै गहना ! कति पनि हुन सकेका गहना ? हजुर जति भाग्यमानी त संसारमै कोही नहोला है । हजुरका सिर्जना र समाजसेवाको कुरा त यी गहनाले नै गरिहाले नि । मैले के गरिरहनू र ? हैन त हजुर । अरुको सेवा गर्नुहुन्छ र पो यतिका गहना जुर्छन् । त्यसै जुर्ने भए हरेकले लाइहाल्थे नि । आफूलाई एउटा फुली त जुरेन, कि कसो ?

म के भनूँ हजुरलाई । म गहना लाउन नसक्ने मान्छे । हजुरसँग बोल्न सङ्कोच लागेर पनि बोल्न खोज्ने मान्छे । आफू यस्ता गहना देख्न नपाएको मान्छे ! गहना किन्न त के चिन्न नि नसकेको मान्छे ! दुःखमा पनि हजुरका गहना देखेर सन्तुष्ट मान्छे । हजुर गहना लाउन सक्ने मान्छे । यहाँसँग अरु विषयको कुरा के गर्नू ? म हजुरको फ्यान । पहिलादेखिको फ्यान । मेरा भाग्यमा लेखेको रहेछ र हजुरलाई देख्न पाएँ । हजुरलाई देख्न पाउनाले यतिका गहना, हिराका गहना, मोतीका गहना, मणि माणिक्यका गहना । सुनै सुनका गहना । यसरी गहना देख्न पाउनु पनि भाग्य पो त है हजुर । यतिका राम्रा र मूल्यवान् गहना त लक्ष्मीका पनि थिएनन् होला । यहाँ कति भाग्यमानी । यहाँको साथी बन्न पाउने म कति भाग्यमानी ।

हजुरका गहना मात्र हो र ? हजुरले लगाएको सारी राम्रो । मुगाको चोली राम्रो । हजुरले लगाएको हिलवाल सेन्डल राम्रो । त्यस सेन्डलमा पनि मोती जडिएको गाँठे । हजुरको कपालको रङ राम्रो मजुरको जस्तै । हजुरको आँखीभौँको डोरो राम्रो कलाकारले चित्र बनाए जस्तै । हजुरको गालाको लाली राम्रो, वनमा फुलेको गुराँस जस्तै । ओठको लाली झन् राम्रो गुलाफ फुले जस्तै । आँखाको गाजल राम्रो आँखा चम्कँदा तारा जस्तै । नङको पालिस झन् राम्रो । यतिका कुरा राम्रो भएपछि अरु कुरा के गरिरहनू ? अरु कुरा त नगर्नु नै राम्रो । समाज सुधार र चेतनाका कुरा त जसले पनि गरिहाल्छ नि है हजुर । यतिको गहना र वस्त्र लाउने हैसियत भएपछि त आफ्ना कृति पनि त्यसै राम्रा भइहाल्छन् नि है ।

एउटै कुरा हजुर ! मान्छेभन्दा छाया अग्लो नराम्रो भन्छन् । आधा गाग्रो छछल्किन्छ भन्छन् । म नजिकको मान्छे भएर भनेको । जब हजुर बोल्न थाल्नु हुन्छ नि त्यस बेला राम्रो भन्न अलि गाह्रो । जब हजुर अरूका बीचमा पुग्नुहुन्छ नि । भनूँ कि नभनूँ त्यसबेला हजुरको बसाई राम्रो भन्न गाह्रो । हजुरको हाउभाउ अरुका अगाडि जब मच्चिन्छ नि तब राम्रो भन्न अलि गाह्रो । जब हजुर हात चलाउन खोज्नुहुन्छ नि तब सीपमा पनि राम्रो भन्न गाह्रो । हजुरलाई वरिपरि बसेकाले आँखा सन्काएका बेला नि हजुर त्यसो होइन भन्न गाह्रो । अरुले कुरा काटेका बेला पनि नि हजुर त्यो होइन भन्न गाह्रो । म यहाँ आएर अलमल पर्छु । गहना राम्रो कि चरित्र राम्रो ? गहना राम्रो कि चेतना राम्रो ? तर नि हजुर मेरा लागि पनि त हजुरको गहनै राम्रो । जसले जे भनून् मेरो भोट हजुरको गहना र शृङ्गारलाई ।

जे भए पनि हजुर राम्रो । हजुरको गहना त राम्रो भइहाल्यो । हजुरले भिरेको झोला राम्रो । हजुरले भिरेको झोलाको उजिन्डो राम्रो । त्यसको डिजायन पनि राम्रो । त्यसको चेन झन् राम्रो । त्यसको गोजी राम्रो । त्यस गोजीमा राखेको पैसा अझ राम्रो । हजुरको कपालको स्टायल राम्रो । त्यो कपाल हल्लिएको राम्रो । त्यही कपाल घुग्रिएको राम्रो । हजुरको हिँडाइको चालढाल राम्रो । टाउको हल्लाइ हल्लाई हो, होइन भन्ने शैली राम्रो । हजुरको हात हल्लाउने शैली विशेष राम्रो । कुम हल्लाउने शैली अझ राम्रो । हरेक हाउभाउ राम्रो । हजुरको अनुहार राम्रो । हेराई राम्रो, आँखा सन्काइ राम्रो । मेरालागि हजुर सबै कुरामा राम्रो । एउटै कुरा नि हजुर, अरुलाई हजुरको आनीबानीबारे आधिकारिक कुरा गर्न गाह्रो ।  गहना वस्त्र र हाउभाउ त हजुरको राम्रो भइहाल्यो । हजुरको गाडी राम्रो । गाडीको सिट राम्रो । सिटमा ओछ्याइएको कभर राम्रो । गाडीमा बस्ने कुकुर राम्रो । हजुरले पालेका बिरालाहरु राम्रा । हजुरको घरमा आउने जाने मान्छेले लाउने लुगा राम्रा । तिनका गहना हजुरका जस्तै राम्रा । मान्छे त ती पनि राम्रा । यति हो, ती सबै मान्छेलाई राम्रा भन्न गाह्रो । तिनको आनीबानी राम्रो भन्न अलि गाह्रो । बत्तीमुनि अँध्यारो, कालो बादलमा चाँदीको घेरा पनि त हुन्छ नि । चन्दमामा पनि त दाग हुन्छ नि । मेरा दृष्टिमा हजुर सम्पूर्ण राम्रो ।

म हजुरलाई भाग्यमानी ठान्छु । अरुले छड्के प्रश्न गर्दा पो नाजवाफ हुन्छु र अलमलिन्छु । कति अलमलिन्छु भने यहाँलाई कस्तो भाग्यमानी ठानूँ ? कस्तो सुन्दर मानूूँ ? मेरा आँखै नक्कली हुुन् कि हजुर ? हजुरका गहना पोसाक नक्कली हुन् कि, हजुर ! मैले खुट्याउन सकिन हजुर । हजुरको गाडी नक्कली कि दुनियाँका आँखा नक्कली ? हजुरको झोला, चप्पल, चिम्टी, नक्कली कि ती दुनियाँका दृष्टि नक्कली ? हजुरको व्यवहार नक्कली कि हाम्रो बुद्धि नक्कली ? तर हजुर हजुरको जीवनशैली राम्रो । हजुर पनि राम्रो ।

दुनियाँका कुरा सुन्दा त लाग्छ हजुर…। भनूँ कि नभनूँ । हजुरले यी गहना र वस्त्र कुन बजारमा किन्नुभएको थियो कुन्नि ? ती सक्कली भनेर हजुर झुक्किनुभयो कि ? कि सक्कली नक्कली नचिनेर म झुक्किएँ ? हजुरलाई देख्ना साथ लागिहाल्छ, हजुर झुकिनुभएको छैन । हजुरका गहना सक्कलीकै हुन् । सुनकै हुन् । हिराकै हुन् मोतीकै हुन् । दुनियाँ र मेरै आँखा उस्ता । हजुर महान् । हजुर राम्री । हजुर विद्वान् । हजुर सुवान । हजुर गुणवान । हजुर मान्य । हजुर धन्य । हजुर सर्वमान्य । हजुरका प्रत्येक वस्तु राम्रा । प्रत्येक वस्तु सक्कली । दुनियाँका आँखा नक्कली । जय हजुरका गहना । जय हजुरका वस्त्र । जय हजुरका वर्तन । जय हजुर ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.