असोज २३, धनुषा । यहाँको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरेर राखिएका आधा दर्जनभन्दा बढी मोटरसाईकलमा अज्ञात व्यक्तिले आगजनी गरेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका- ३ स्थित प्रखे महुवामा पार्किङ गरी राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसहित ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले आगजनी गरेकाे र ती सबै जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज बिहानको समयमा पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिएका छन ।
आगजनी घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले यसबारे अनुसन्धान भई रहेको जनाएका छन ।

