असोज २३, काठमाडौं । चीनका राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको नेपाल भ्रमणको भव्य स्वागत गर्ने तयारी तीव्र रुपमा भइरहेको छ ।
राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा ठाउँठाउँमा उनको स्वागतका लागि स्वागतद्वारहरु बनाइएका छन । ठाउँठाउँमा ब्यानर पनि राखिएका छन । यससँगै बिजुलीका पोलपोलमा चिनियाँ राष्ट्रपति सीको तस्वीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर पनि झुण्ड्याइएको छ ।
काठमाडौँ मुख्य सडक र चोक तथा आकाशेपुलमा ब्यानर राखिएका छन । बबरमहलस्थित निर्माणाधीन आर्क ब्रिजमा र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीरहरु अंकित ठूलाठूला ब्यानर राखिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि नै सी हिड्ने मूल सडकका दायाँबायाँ दुवैकिनारामा राष्ट्रपतिद्वयका तस्वीरहरु सजाएएर राखिएको छ ।
विमानस्थल गेटदेखि, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकालीसम्मै यस्ता तस्वीर पोलपोलमा राखिएको छ । यसैगरी विमानस्थलगेटदेखि गौशाला, नक्साल भगवती, नागपोखरी, हात्तीसार, केशरमहल, दरबारमार्ग, सुन्धारा, कालीमाटी, सोल्टीमोडसम्मै राष्ट्रपतिद्वयका तस्वीर टाँगिएको छ ।
यससँगै सडकको सफाइ, रंगरोगन र सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चिनिया राष्ट्रपति सी शनिबार नेपाल आउँदे छन । उनी आइतबार फर्कनेछन ।

