नेपाल र अष्ट्रेलियासँग हवाई सम्झौता

असोज १४, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ ।

मंगलबार दुई देश बीच भएको द्विपक्षीय सम्झौतासँगै अष्ट्रेलिया नेपालसँग हवाई सम्झौता गर्ने ४० औँ मुलक बन्न सफल भएको छ । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने छन् । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।

समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् । सम्झौता तथा समझदारीअनुसार दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने छन् । दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने सहसचिव आचार्यले जानकारी दिए । नेपालको हकमा अष्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजील्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन् भने अष्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.