असाेज, १२ एजेन्सी । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ ।
कप्तान लिओनल मेस्सीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले गेटाफेलाई उसकै घरमा २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेज र जुनियर फिर्फोले समान एक।एक गोल गरे ।
कप्तान मेस्सी मंगलबार भिल्लारियलविरुद्ध खेलमा चोट बोकेपछि हाफ टाइममै बाहिरिएका थिए । उनीसँगै युवा फरवार्ड अन्सु फाती पनि मैदान बहिर नै रहेका थिए । फातीको दायाँ घुँडामा समस्या देखिएको छ । खेलको ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले गोलकिपर मार्क आन्द्रे टर स्टेगेगनले बक्स क्षेत्रबाट दिएको लामो दूरीको पासमा गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ८२औं मिनेटमा जुनियर फिर्फोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा खेल बार्सिलोनाले २-० गोल अन्तरले जित्यो । खेलको ८२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । उसका फ्रेन्च डिफेन्डर क्लेमेट लेङलेट दोहोरो पहेँलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेपछि बाँकी समय बार्सिलोना १० खेलाडीमा सीमित भएको हो ।
यो जितपछि १३ अंक जोडेर बार्सिलोना लिगको चौथो स्थान रहेको छ । १५ अंक सहित रियल म्याड्रिड पहिलो स्थानमा छ भने समान १४।१४ अंक भएको ग्रानाडा दोस्रो र एथ्लेकिट म्याड्रिड तेस्रो स्थानमा रहेको छ ।

