असोज ११, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधीन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दाबी गरे । “प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,” शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भने, “संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म संचारकर्मी साथीहरुलाई दिलाउन चाहान्छु ।”
अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको टकपटक दोहोर्याए । उनले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होइन भन्ने कुरामा ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पारे ।पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्नेभन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ गम्भिर भएर सोच्नुपर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ थियो ।

