खासा नाका खोल्न चीन सकारात्मक, १४ बुँदे सहित संयुक्त वक्तव्य जारी

असार ८, बेइजिङ । नेपाल र चीनबीच केरुङबाट रसुवागढी हुँदै काठमाडौँसम्म जोड्ने रेल निर्माण लगायतका १० वटा सम्झौता तथा चारवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा चीनका प्रधानमन्त्री ली खछ्याङबीचको औपचारिक भेटपछि उहाँहरूको उपस्थितिमा बिहीबार ती सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता भएका अन्य विषयमा नेपालको कार्गो यातायात सेवाका लागि नेपाल–तिब्बत सीमामा आठवटा नाका प्रयोगसम्बन्धी प्रोटोकलसमेत छ ।

 

त्यसैगरी चीनले आर्थिक तथा प्राविधिक विकासका लागि नेपाललाई सहायता दिने तथा मानव संसाधन विकासमा सहयोग गर्ने विषयमा पनि सम्झौता भएको छ । चीनको सहयोगमा काठमाडौँको दरबार स्क्वायरको पुनःनिर्माण, चीनसँग जोडिने दुई नाका रसुवा र तातोपानीमा पुल निर्माण गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ ।  त्यस्तै नेपालमा आर्थिक विकास तथा उत्पादन क्षमता अभिवृद्धिका लागि लगानी तथा सहयोग, दुई देशका परराष्ट्र मन्त्रालयबीच सहयोग सुदृढीकरण, दुई देशबीचको सहयोगमा सञ्चालित परियोजना तथा कार्यक्रमको समन्वय गर्न चीन र नेपालका परराष्ट्र मन्त्रालयमा संयन्त्र स्थापना गर्ने लगायतका विषयमा समझदारीसमेत बनेको छ ।  चीनको ल्हासा हुँदै केरुङ, रसुवागढी विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ समकक्षी ली सियोपिङबीच हस्ताक्षर भएको छ । बिहीबार नै दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि समझदारी भएको छ । समझदारीमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको ऊर्जा एजेन्सीका प्रमुख नुर बाइकेलीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

 

उच्चस्तरीय भ्रमण छिट्टै
प्रधनमन्त्री ओली र चिनियाँ समकक्षी ली बीचको भेट तथा औपचारिक वार्तापछि चीनका उपविदेशमन्त्री कोङ जुवाङले भेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चीनको उच्चस्तरीय भ्रमण चाँडै हुने जानकारी दिनुभयो । कोङले भन्नुभयो, “नेपालका प्रधानमन्त्रीले चीनको उच्चस्तरीय भ्रमणका लागि यसअघिकै निमन्त्रणालाई पुनः स्मरण गराउनुभएको छ र हामीले नेपालमा छिट्टै नै उच्चस्तरीय भ्रमण हुने जवाफ दिएका छौँ । ” चिनियाँ प्रधानमन्त्री ली सँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनपछि सरकारमा नयाँ नेतृत्व आएको स्मरण गर्दै नेपालमा पनि नयाँ सरकार गठनपछि भएको आफ्नो यो भ्रमण निकै विशेष भएको बताउनुभयो ।  चीनको भ्रमणका क्रममा राष्ट्रपति सी जिन पिङ लगायतका उच्चस्तरीय नेतासँग भेट भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चीनले नेपालप्रति देखाएको सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले चीनको प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनुभएकोमा लीलाई बधाई दिँदै भविष्यमा दुवै देशको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पिपुल्स अफ ग्रेटवालमा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ सैनिक टुकडीले गार्ड अफ अनर दिएको थियो ।

 

ओली दूरदर्शी र साहसी
प्रधानमन्त्री ओलीले बिहीबार चिनियाँ नेसनल कङ्ग्रेस पार्टीको स्ट्यान्डिङ कमिटीका अध्यक्ष ली झुवानसुसँग पनि दी ग्रेट हल अफ दी पिपुलमा भेट गर्नुभएको थियो । भेटका अवसरमा अध्यक्ष झुवानसुले प्रधानमन्त्री केपी ओली निकै दूरदर्शी र साहसी नेता भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।  नेपालको आर्थिक विकासका लागि ओली नेतृत्वको सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई मूर्त रूप दिन नेपालका लागि चीनले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत अध्यक्ष झुवानले व्यक्त गर्नुभयो ।   यसैबीच बिहीबार बिहान प्रधानमन्त्री ओलीले चीनस्थित नेपाली दूतावास तथा बेइजिङ स्पोर्टस् विश्वविद्यालय र चीनको स्टेट जनरल एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा नेपाल पर्यटन वर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मैत्रीपूर्ण दौड प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।  दौडमा नेपाली तथा चिनियाँ गरी करिब एक सय युवाले सहभागिता जनाएका थिए । यस्तै प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको सेन्टरल पार्टी स्कुल, चाइना एकेडेमी अफ गभर्नेन्सले संयुक्त रूपमा आयोजना गरेको समृद्धिका लागि राजनीतिक दलको भूमिका विषयक कार्यशालमा मुख्य वक्ताका रूपमा मन्तव्यसमेत दिनुभएको थियो । प्रधानमन्त्री ओली ल्हासाको भ्रमणका लागि बेइजिङबाट शुक्रबार त्यसतर्फ जाने कार्यक्रम छ ।– गोरखापत्र

Satkar Media House
Leave A Reply

Your email address will not be published.