असार ७, काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा निर्माणका लागि ६ वटा नेपाली र ६ वटा चिनियाँ निर्माण कम्पनीले आवेदन दिएका छन् । पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आह्वान गरेको ई–टेण्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ । नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि संयुक्त लगानीमा निर्माण गर्ने गरी ६–६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए । आवेदन दिएका सबै कम्पनीको मूल्याङ्कनपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएर एक सातापछि ई–टेण्डर खोलिने पनि उनले बताए ।
लिफ्टसहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आह्वान गरेको ई–टेण्डरको समय बिहीबार सकिएको छ । रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् । त्यसैगरी आशिष निर्माण, रमण र ब्राउनलगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि शिलान्यास गर्ने गरी दु्रत गतिमा काम अघि बढाइएको जनाएको छ ।