पहिलो पटक नेपालमा बाथरोग चिकित्सकको सम्मेलन हुने

असोज ६, काठमाडौं । दक्षिण एसियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आम जनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ।

नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करिब १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहने छ। नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथरोगसम्बन्धी काठमाडौं घोषणापत्रसमेत जारी गर्ने छ। सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

नेपालमा कूल जनसङ्ख्याको दश प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या भएको तीमध्ये करिब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ। करिब ७० प्रतिशत बाथरोगीले औषधि खाँदाखाँदै बीचमै छाड्ने गर्छन्। नेपालमा बाथरोग विशेषज्ञ चिकित्सक करीब ३० जना मात्र छन्। विशेषज्ञ चिकित्सक नकर्मीले भनिन्, “बाथरोग एक सयभन्दा बढी प्रकारका छन्, रगत परीक्षण गराएपछि मात्र बाथरोगका पहिलो जानकारी प्राप्त हुन्छ।”

नेपालमा बढी मात्रामा युरिक एसिड, हाडजोर्नी सुन्निने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बढी देखिने चिकित्सकले जनाएका छन्। साथै बालबालिकामा बढी मात्रमा जोर्नी दुख्ने बाथरोगबाट ग्रसित भएको पाइन्छ। हाडजोर्नी दुख्ने, सुन्निने कक्रक्क हुने, घुँडा, कुहिनो दुख्ने, सामान्य ज्वरो आउने लगायतका लक्षण बाथरोग हुन्। समयमा उपचार नभएमा आँखा, मिर्गौला र मुटुलाई समेत असर पुर्यािउने चिकित्सकले जनाएका छन्। – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.