‘कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट’

असोज ४, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् । आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा उनले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताए ।

“एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन”, उनले भने, “त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारीमा रहेका छौँ ।” उनले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताए । उनले स्थानीय तहको कामप्रति सङ्घले हस्तक्षेप नगर्ने उल्लेख गर्दै जनतालाई सरकारको अनुभूति स्थानीय तहले उपलब्ध गराउनुपर्ने धारणा राखे । मन्त्री पण्डितले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पुर्याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले प्रतिष्ठानसँग सहकार्य गरेर कर्मचारीको क्षमताको विकास गर्न आयोग सधैँ तत्पर रहेको बताए । प्रशासक काशीराज दाहालले कर्मचारीले तालीममा सिकेका कुरा जनताको सेवामा काम गर्दा व्यवहारमा उतारेमात्र वास्तविक सिकाइको उपलब्धि हासिल गरेको भन्न सकिने बताए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.