असोज १० गतेबाट नयाँ नोट साट्न पाउने

अर्जुन श्रेष्ठ
असोज ३, काठमाडौँ । प्रत्येक वर्ष दशैंको अवसरमा नयाँ नोट सटही गर्दै आएको नेपाल राष्ट्र बैंकले यसबर्षको नयाँ नोट असोज १० गतेदेखि उपलब्ध गराउने भएको छ ।

बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट र उपत्यका बाहिर विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध हुने जनाएको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सबै शाखा कार्यलयबाट र अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सीमित मात्रामा नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

उपत्यकामा नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक पकेट गरी १८ हजार ५ सय रुपैयासम्म नयाँ नोट सटहीको सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.