असोज २, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमाथि सरकारबाटै प्रहार भइरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसद महतोले संविधानको रक्षा सरकारले नगरेको र संघीयतालाई कमजोर पार्ने काम भइरहेको आरोप लगाए । त्यस्तै उनले भ्रष्टाचार काण्डका घटना भए पनि दोषी पत्ता नलागेको भन्दै आक्रोस पोखे । “खै वाइडबडी ? खै निर्मलाको बलात्कारी हत्यारा कहाँ गयो ? बालुवाटार त बिक्री भइसक्यो, सिंहदरबार कहिले बिक्री हुने हो ? महतोको प्रश्न थियो ।
त्यस्तै, उनले सरकारले सभामुखको रुलिङलाई समेत लंगौटी लगाइदिएको भन्दै संसदीय व्यवस्थाको अपमान गरेको आरोप पनि लगाए । लाल आयोगको प्रतिवेदन ल्याउन सभामुखले दुई पटक रुलिङ गरे पनि सरकारले अटेर गरेको महतोले बताए । त्यस्तै, महतोले सरकारका उपप्रधानमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै संविधान दिवस नमनाउने पक्षमा रहेको भन्दै उनले सरकारसँग प्रश्न गरे, “सरकार पक्षले नै संविधान दिवस नमनाएपछि सरकारको वैधानिकतामा प्रश्न उठ्न कि उठ्दैन ? यो जनताको गम्भीर सवाल हो ।” उनले उपप्रधानमन्त्री यादवलाई हिजो सँगै ब्ल्याकआउट गर्ने अनि आज चुपचाप बस्न मिल्छ ? भन्दै प्रश्न गरे ।

