शुक्रबार रत्नपार्क र बालाजु पार्कमा प्रवेश निःशुल्क

असोज २, काठमाडौं । यही बिहीबार, शुक्रबार र शनिबार रत्नपार्क वा बालाजु पार्कमा जाने सबैले निःशुल्क प्रवेश पाउने भएका छन् ।

संविधान दिवस ०७६ को अवसरमा काठमाडौं महानगरपालिकाले रत्नपार्क र बालाजु पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेकोहो । अन्य समयमा यी पार्क प्रवेश गर्न सर्वसाधारणले २५ रुपैयाँ शुल्क तिर्नुपर्छ । महानगरले संविधान दिवस भव्य रुपमा मनाउन केन्द्रीय सरकारसँग सहजीकरण गर्ने भएको छ । संविधान दिवसका दिन टुँडिखेलमा आयोजना हुने कार्यक्रम स्थल सजावटसहित उपस्थित सर्वसाधारणका लागिसमेत महानगरले कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचारलगायत सेवा उपलब्ध गराउने महानगरले जानकारी दिएको छ ।

प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको र्याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४ बाइ ३ फिटका एक–एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्नेछ । शिक्षा विभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभावका कविता, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक विधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ ।

सोही अवरसमा सैनिक मञ्चमा आयोजना हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ । यही अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने कार्यक्रम रहेको छ । संविधान दिवसको दिन महानगरबासीलाई आफ्नो घरमा ४ बाइ ३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत महानगरले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.