असोज २, काठमाडौँ । संसद्को चालू वर्षे अधिवेशन साढे तीन महिनापछि बिहीबार अन्त्य हुँदैछ । बिहीबारै संसदको दोस्रो बैठक बसेर अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
बिहीबार बस्ने पहिलो संसद बैठकमा २ वटा विधेयक पारित गर्ने तयारी छ । त्यसलगत्तै दोस्रो बैठक बस्नेछ । बैठकमा सभामुख कृष्ण बहादुर महराले अधिवेशनमा भएगरेका कामहरुबारे संक्षिप्तमा जानकारी गराउनेछन । वर्षे अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो ।
यो अधिवेशनमा मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका सर्वा्धिक चासोका विधेयकहरु भने अघि बढ्न सकेनन । पाँच महिनासम्म चलेको संसद अधिवेशनले केही महत्वपूर्ण विधेयकहरु पारित गरेको छ । तर, नागरिकता ऐन संशोधन, मिडिया काउन्सिल, संघीय निजामति कर्मचारीको सेवा शर्त गठन र तीन तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयकहरु संसदीय विषयगत समितिमै छन ।
यस्तै, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता मात्रै भएका छन ।

